रास्वपाद्वारा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ३५ जनाले गरे रक्तदान
हेटौंडा । बाढी, पहिरो र जेन-जी आन्दोलनका कारण घाइते भएका व्यक्तिहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान, जीवनदान” भन्ने नारासहित शनिबार बिहान हेटौंडा–४ स्थित बुद्धचोकमा आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका हुन्।
उक्त कार्यक्रम रास्वपा बागमती प्रदेश र्याट (RAT) समन्वय र नेपाल रेडक्रस सोसाइटी रक्त केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।
कार्यक्रमको संयोजन रास्वपा बागमती प्रदेश र्याटका सचिव महेन्द्र श्रेष्ठले गरेका थिए भने हेटौंडा उपमहानगरपालिकाका नगर उपसभापति तथा कार्यक्रमका सह-संयोजक हरि बहादुर कुँवरले सक्रिय भूमिका निभाएका थिए।
सह-संयोजक कुँवरका अनुसार, हालै देशका विभिन्न भागमा परेको बाढी, पहिरो र आन्दोलनबाट घाइते तथा प्रभावितहरूप्रति सहयोगार्थ यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको प्रमुख आतिथ्यता रास्वपा केन्द्रीय सदस्य विन्दवासिनी कंसाकारको रहेको कार्यक्रममा “सेवा, सहयोग र आवाजमा हामी” संस्थाका अध्यक्ष विशाल राज महतसहित सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।










