हेटौंडा । १२ वर्षदेखि थ्रीह्वीलर इलेक्ट्रिक गाडीको आधिकारिक बिक्रेता कुशवाहा मोटर्सले जापानी ब्रान्डको इलेक्ट्रिक स्कुटरको शोरुम हेटौंडामा संचालनमा ल्याएको छ। शोरुम हेटौंडा उपमहानगरपालिका–४, शितलमहल चोकस्थित रोयल प्यालेस जाने बाटो नजिकै अवस्थित छ।
शोरुमको उद्घाटन स्कुटरका पहिलो ग्राहक गोबिन्द जोशी, बुद्धिबहादुर श्रेष्ठ र कुशवाहा मोटर्सका संचालक बलिरामप्रसाद कुशवाहाले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
नेपालमा पहिलोपटक लञ्च गरिएको यो स्कुटरले एक पटक चार्जमा १२० किलोमिटरभन्दा बढी माइलेज दिने क्षमता राख्दछ। एक वर्षको वारेन्टी, बलियो संरचना र सजिलै उपलब्ध हुने स्पेयर पार्ट्स स्कुटरको विशेषता रहेको कुशवाहा मोटर्सका संचालक कुशवाहाले जानकारी दिए।
हेटौंडा शाखाका म्यानेजर ओमकुमार चौरसियाका अनुसार स्कुटर ४५ डिग्रीसम्मको उकालोमा दुई जना चढेर सजिलै चलाउन मिल्ने छ। शोरुम उद्घाटन भएको दिनमै ३ वटा स्कुटर बिक्री भइसकेको र ग्राहकको उत्साहजनक प्रतिक्रिया आएको उनले बताए।
सञ्चालक कुशवाहाका अनुसार छिट्टै ठूला मालवाहक, यात्रुवाहक, तरकारी तथा स्कुल विद्यार्थी बोक्ने थ्रीह्वीलर भेइकलहरुको शोरुम पनि सञ्चालनमा ल्याइनेछ। तिहार र छठ पर्वको अवसर १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको जानकारी दिइएको छ।











