राक्सिराङ–२ सरिखेतमा साढे एक तले स्वास्थ्य चौकी भवनको शिलान्यास

मकवानपुर । राक्सिराङ गाउँपालिका–२ कुडुलेस्थित सरिखेत स्वास्थ्य चौकी भवनको सोमबार शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक कार्यक्रमका बीच साढे एक तले नयाँ भवनको शिलान्यास गरेका हुन्।

करिब १ करोड १८ लाख २३ हजार लागतमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भवनले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा अझ सहज बनाउन अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले केही समयअघिसम्म सिटामोलजस्ता सामान्य औषधिको पहुँच नपुग्ने पालिका अहिले स्वास्थ्य संरचना विकासतर्फ अघि बढेको बताए। सुत्केरी आमा पोषण कार्यक्रममार्फत स्वास्थ्य चौकीमा आउनेको संख्या बढेको उल्लेख गर्दै मल्लले कच्चा र जीर्ण भवनमा सेवा दिँदै आएका स्वास्थ्यकर्मीका लागि नयाँ भवनले काम गर्न सहज हुने बताए।

उनका अनुसार बाँकी १८ महिनाको कार्यकालभित्र भवन निर्माण सम्पन्न गरी थप स्वास्थ्य सेवा विस्तारमा गाउँपालिका प्रतिबद्ध छ।

कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष बुद्धराम मुक्तानको सभाध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, उपाध्यक्ष बनस्तम थिङ, स्वास्थ्य संयोजक विजय कुमार कापरी, महिला तथा बालबालिका शाखा प्रमुख गोमा पन्थी, प्रशासन सहायक पुनम कुमार रुम्बा, वडा सचिव लोकेंद्र ओली लगायत स्वास्थ्यकर्मी तथा स्थानीयवासी उपस्थित थिए।

सरिखेत स्वास्थ्य चौकीले वडा नं. १, २ र ३ लाई सेवा दिने गर्दछ। हाल राक्सिराङ गाउँपालिकामा ५३ स्वास्थ्यकर्मी कार्यरत छन्। पालिकामा ३ स्वास्थ्य चौकी, १ आधारभूत अस्पताल, ६ आधारभूत स्वास्थ्य सेवा केन्द्र, १ आयुर्वेदिक औषधालय र १ सामुदायिक स्वास्थ्य सेवा इकाइ गरी कुल १२ स्वास्थ्य संस्थाबाट सेवा दिइँदै आएको छ।

९ वटा  वडामध्ये वडा नं. १, ७ र ८ मा अझै स्वास्थ्य सेवा पहुँचमा चुनौती कायम रहेको पालिकाले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.