मनहरीमा यात्रुबाहक बसबाट ५३ किलोभन्दा बढी गाँजा बरामद, ७ जना नियन्त्रणमा

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनहरी बजारमा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित सात जनालाई पक्राउ गरेको छ। चितवनबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुबाहक बसलाई शंका लागेपछि रोकेर गरिएको खानतलासीका क्रममा गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय मनहरीको टोलीले बा प्र ०१–००६ ख ७७०१ नम्बरको बस जाँच गर्दा लुकाइछिपाइ ल्याइएको ५३ किलो ५७० ग्राम गाँजा फेला पारेको जनाएको छ। घटनामा संलग्न भएको आरोपमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ अठारेका विभिन्न उमेर समूहका पुरुष तथा महिलासहित सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा हाल चितवन राप्ती नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरू पनि रहेको बताइएको छ। सबैलाई लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार यस घटनासँग जोडिएको लागू औषध ओसारपसारको सम्भावित सञ्जालबारे समेत खोजबिन भइरहेको छ र संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.