उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक

हेटौंडा । मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तालिका तय गरिएको छ। मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न सर्वपक्षीय बैठकले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि मनोनयन दर्ताको समय निर्धारण गरेको हो।
निर्धारित तालिकाअनुसार माघ ६ गते बिहान १० देखि ११ बजेसम्म मंगोल नेशनल अर्गनाइजेसनलाई पहिलो समय दिइएको छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई ११ देखि १२, नेकपा एमालेका लागि १२ देखि १ बजेसम्म समय तोकिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ देखि २ बजेसम्म मनोनयन दर्ता गर्न पाउनेछ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीका लागि २ देखि ३, नेपाली कांग्रेसका लागि ३ देखि ४ र उज्यालो नेपाललाई त्यसपछिको एक घण्टा समय छुट्याइएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिइन्। स्वतन्त्र उम्मेदवारले भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुरक्षा व्यवस्था र मतदानस्थलको तयारीबारे जानकारी गराएका थिए। हेटौंडा–११ थानाभर्‍याङस्थित कृषि थोक बजारको भवनमा मकवानपुरका दुवै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको छ।
मनोनयन दर्ताका क्रममा उम्मेदवारसहित बढीमा १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न दिने निर्णय बैठकले गरेको छ। निर्वाचन कार्यालयका अनुसार मकवानपुर–१ मा १ लाख ५८ हजार ४ सय ३५ र मकवानपुर–२ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन्। दुवै निर्वाचन क्षेत्रमा गरी १ सय ५ मतदानस्थल रहनेछन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.