हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ का वडा अध्यक्ष नरनाथ सुवेदीले आफ्नै स्थानीय सरकार र कर्मचारीप्रति कडा असन्तुष्टि जनाएका छन्। मंगलबार बाल हेल्पलाइन (सिविन) मकवानपुरले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा बोल्दै उनले वडामा देखिएका गम्भीर सामाजिक समस्याको समाधानका लागि पटक–पटक नगरपालिका धाउँदा पनि करिब ६ महिनासम्म झुलाइएको भन्दै “थुक्क सरकार” भन्ने शब्द प्रयोग गर्दै आक्रोश पोखेका हुन्।
वडा अध्यक्ष सुवेदीका अनुसार केही विषय कानुनले बाँधिए पनि धेरै समस्यामा सरकारी कर्मचारीको ढिलासुस्तीका कारण समस्या लम्बिएको हो। जनप्रतिनिधि हुँदाहुँदै पनि आफैं समस्यामा पर्नु परेको भन्दै उनले दुःख व्यक्त गरे।
कार्यक्रममा उनले एक परिवारका चार बालबालिकाको पीडादायी अवस्था सुनाउँदै आमाको मृत्यु र बुवाको कुलतका कारण ती बालबालिका विचल्लीमा परेको बताए। बालबालिकालाई आश्रयको व्यवस्था गर्न नगरपालिकाको बालबालिका शाखा हुँदै एक बालगृहमा राखिएको भए पनि उक्त शाखाले “अवैध” भन्दै बालबालिकालाई फिर्ता पठाएको उनको भनाइ छ। यही प्रसङ्गमा उनले आफ्नै पालिकाको तीव्र आलोचना गरेका थिए।
करिब ६ महिना संघर्ष गरेपछि ती बालबालिकालाई सुरक्षित र व्यवस्थित आश्रयको व्यवस्था गरी पढाइरहेको उनले जानकारी दिए। साथै, वडाभित्रका जिर्ण विद्यालयको सुधारका लागि पटक–पटक बजेट माग गर्दा पनि बेवास्ता गरिएको भन्दै उनले पुनः आक्रोश व्यक्त गरे।
कार्यक्रमको अन्त्यतिर ती बालबालिकाका लागि केही गर्न पाएकोमा भावुक बन्दै उनले भने, “चारमध्ये तीन जनालाई राम्रो गर्न सकेँ, तर एक जना अहिले ग्यारेजमा काम गरिरहेको छ।” उनले उक्त अवस्थाप्रति दुःख व्यक्त गरे।
वडा अध्यक्ष सुवेदीको यो अभिव्यक्तिले स्थानीय तहमा जनप्रतिनिधिले भोग्नुपरेको प्रशासनिक झन्झट र सामाजिक उत्तरदायित्वका सवाललाई उजागर गरेको छ।










