हेटौँडा । हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु भएपछि परिवारले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। घटनालाई लिएर आफन्त र अस्पताल प्रशासनबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ भने निष्पक्ष छानबिनको माग गरिएको छ।
परिवारका अनुसार मङ्सिर २५ गते अस्पतालमै सामान्य प्रसूति भएर शिशु जन्मिएको थियो। आमा र शिशु दुवैको अवस्था सामान्य रहेको भन्दै घर जान चाहँदा अस्पताल प्रशासनले नछाडेको र भोलिपल्ट मङ्सिर २६ गते नवजात शिशुलाई भर्ना गरिएको उनीहरूको भनाइ छ। भर्नापछि शिशुको नियमित चिकित्सकीय जाँच नहुने र नर्सहरू पनि समयमा उपस्थित नहुने गरेको परिवारको आरोप छ।
शिशुका बाबु विशाल ओलीका अनुसार पुस १ गते बिहान करिब साढे ३ बजेसम्म दूध खाएर सुतेको शिशुलाई फोटो थेरापी मेसिनमा राख्नुपर्ने भन्दै राखिएको थियो। उक्त निर्णयप्रति आफूले सुरुदेखि नै शंका व्यक्त गरे पनि नर्स वा चिकित्सकले गम्भीर रूपमा नलिएको उनले बताए।
“बिहान ५ बजेतिर मेसिनमै राखिएको अवस्थामा मेरो छोराको मृत्यु भयो,” ओलीले भने, “निकाल्दा शिशुको एकपटीको कान र शरीरका केही भाग जलेको जस्तो निलो देखिएको थियो।”
उनका अनुसार बिहानको समयमा वार्डमा न नर्स थिए न चिकित्सक नै। “ढोका ढकढक्याएर बोलाउँदा पनि कोही आएन। पछि आएका डाक्टरलाई ‘शिशु बितिसक्यो, के चेक गर्नु’ भनेपछि फर्केर जानुभयो,” उनले आरोप लगाए।
घटनाका प्रत्यक्षदर्शी कुरुवाहरूले पनि मेसिनमा राख्दासम्म शिशु पूर्ण रूपमा सामान्य रहेको बताएका छन्। निकाल्दा शरीरका केही भाग निलो भइसकेको देखिएको उनीहरूको भनाइ छ। “राति दूध खाएर मज्जाले सुतेको बच्चा बिहानसम्म ठीक थियो, अचानक यस्तो भयो,” एक कुरुवाले भनिन्।
कुरुवाहरूले फोटो थेरापी मेसिनको तापक्रम अत्यधिक भएको वा उपकरणमा विद्युत् समस्या हुनसक्ने आशंका समेत गरेका छन्।
यता अस्पताल प्रशासनले भने आरोप अस्वीकार गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाका अनुसार शिशुको मृत्यु आमाको दूध चुस्ने क्रममा सर्किएर भएको हो। बाल रोग विशेषज्ञ डा. हरि खड्काले फोटो थेरापी मेसिनबाट करेन्ट लाग्ने सम्भावना नै नभएको दाबी गरेका छन्।
घटनाको निष्कर्ष ननिस्किँदासम्म शिशुको शव नबुझ्ने अडान आफन्तले लिएका छन्। हाल आफन्त र अस्पताल प्रशासनबीच छलफल जारी रहेको अस्पतालले जनाएको छ।










