हेटौंडामा आयमूलक होजियारी तालिम सम्पन्न

हेटौंडा । हेटौंडामा सामाजिक रुपान्तरणका लागि सञ्चालन गरिएको आयमूलक होजियारी तालिम बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजना तथा सामाजिक विकास कार्यालय हेटौंडाको प्रवर्द्धनमा उक्त तालिम सञ्चालन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाले महिलाहरुको सीपलाई बजारसँग जोड्न वडा कार्यालयले ‘कोसेली घर’ स्थापना गरेको जानकारी दिए। उनले उद्यमशील महिलाहरुका उत्पादनलाई प्रवर्द्धन गर्न प्रत्येक वर्ष बसपार्क क्षेत्रमा मेला आयोजना गर्ने गरिएको पनि बताए।

कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद दाहालले गरेका थिए भने गैरसरकारी संस्था महासंघका अध्यक्ष रमिला सापकोटा, समाजसेवी सिताराम बर्तौला र डा. जया कोइरालालगायतको उपस्थिति थियो।

वैशाख १३ गतेबाट सुरु भएको १० दिने तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो। तालिमको प्रशिक्षकका रुपमा सुनिता हाडाले सहजीकरण गरेकी थिइन्।

तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमका क्रममा संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा थप सीपमूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.