हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सीमान्तकृत तथा चेपाङ समुदाय लक्षित शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ। कार्यक्रम हिमराइट्स मकवानपुरको आयोजना, गाउँपालिकाको समन्वय तथा कोर इन्टरनेशनलको सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रममा हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाले स्वागत मन्तव्य राख्दै संस्थाले शिक्षाबाट वञ्चित समुदायलाई लक्षित गरी विभिन्न सहयोग गर्दै आएको बताइन्। उनले विशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न कार्यक्रम प्रभावकारी बनेको उल्लेख गरिन्।
प्रजा जागृति माध्यमिक विद्यालयकी प्रधानाध्यापक शर्मिला पौडेलले ५४ जना विद्यार्थीमाथि गरिएको सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगी संस्थाप्रति आभार व्यक्त गरिन्। उनले सामाजिक लेखा परीक्षणबाट परियोजनामा ठूलो लगानी र प्रभाव रहेको स्पष्ट भएको भन्दै अभिभावक, शिक्षक तथा विद्यार्थीले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।
अभिभावक रबिन कुमार चेपाङले संस्थाबाट प्राप्त कुखुरा पालन सहयोगले परिवारको जीविकोपार्जन सहज भएको र बालबालिकाको पढाइमा सहयोग पुगेको बताए। यस्तै कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले कक्षा ४ देखि प्राप्त सहयोगले आर्थिक बोझ कम भई अध्ययनलाई निरन्तरता दिन सहज भएको अनुभव सुनाए।
हिमराइट्सका अनुसन्धानकर्ता सुशील श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै राक्सिराङ–३ र राक्सिराङ–५ का ५२ परिवारलाई आयआर्जन कार्यक्रममार्फत सहयोग गरिएको जानकारी दिए। उनका अनुसार ५२ परिवारलाई खाद्यान्न सहयोग, २५ बालबालिकालाई शैक्षिक सहयोग तथा ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको छ।
कार्यक्रम अन्तर्गत छात्रवृत्ति, ट्युसन कक्षा सञ्चालन, शैक्षिक सामग्री वितरण, बाख्रा तथा कुखुरा पालन, अदुवा र बेसार खेती, खाद्यान्न तथा मौसमी कपडा वितरणजस्ता गतिविधि सञ्चालन गरिएका छन्। परियोजनाको मुख्य उद्देश्य सीमान्तकृत तथा चेपाङ समुदायका बालबालिकाको शिक्षा, नेतृत्व विकास तथा अभिभावकको जीविकोपार्जन सुदृढ बनाउनु रहेको बताइएको छ।
सामाजिक लेखा परीक्षणले संस्थाको पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारिताको मूल्यांकन गर्नुका साथै सरोकारवालाबाट सुझाव संकलन गरी आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको जनाइएको छ।
परियोजनाबाट ५२ बालबालिकाले छात्रवृत्तिमार्फत अध्ययनलाई निरन्तरता दिएका छन् भने ५२ बालबालिकाका लागि अतिरिक्त ट्युसन कक्षा सञ्चालन गरिएको छ। स्थानीय सरकार, शिक्षक, अभिभावक तथा बालबालिकाबीच समन्वय सुदृढ भएको तथा बालविवाह न्यूनीकरण, बालश्रम नियन्त्रण र विद्यालय छाड्ने दर घटाउन कार्यक्रम प्रभावकारी देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आर्थिक सशक्तिकरणतर्फ बाख्रा तथा कुखुरा पालन सहयोगले परिवारको आम्दानी वृद्धि भई बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव परेको जनाइएको छ।
कार्यक्रममा विद्यालयमा शिक्षक अभाव, गणित, अंग्रेजी र विज्ञान विषयमा विद्यार्थीको कमजोरी, ट्युसन कक्षामा स्तरअनुसार विभाजनको आवश्यकता तथा शिक्षक तालिम अभावजस्ता चुनौती औंल्याइएको थियो। साथै सीपमूलक तालिम विस्तार, स्थानीय सरकारको सक्रिय सहभागिता र पशुपालनमा हुने क्षति न्यूनीकरणका लागि बीमा व्यवस्था गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।
हिमराइट्सका केन्द्रीय वित्तीय लेखा अधिकृत विजयकुमार महर्जनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हरिबहादुर प्रजाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा सीमान्तकृत परिवारहरूको उपस्थिति थियो।











