हेटौंडामा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर

हेटौंडा । पतञ्जली योग समिति अन्तर्गत महिला पतञ्जली योग समिति मकवानपुर को आयोजनामा हेटौंडा मा पाँचदिने निःशुल्क वृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ। शिविर आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म लोकतान्त्रिक चौर (हुप्राचौर) मा प्रत्येक बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा रामकृष्ण थापा ले आधुनिक जीवनशैली, तनाव र अव्यवस्थित खानपानका कारण नसर्ने रोग तीव्र रूपमा बढिरहेको अवस्थामा योगलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यसहित शिविर आयोजना गरिएको जानकारी दिए। उनले “घरघरमा योग, जनजनमा योग, सबै निरोग, सदा निरोग” भन्ने मूल नारासहित समिति विगत २०६४ सालदेखि मकवानपुरका विभिन्न पालिकामा निःशुल्क योग अभियान सञ्चालन गर्दै आएको बताए।

शिविरमा मुख्य प्रशिक्षकका रूपमा साद्वी देवादिति रहनेछिन्। हरिद्वारस्थित पतञ्जलि योगपीठ बाट सन्यास ग्रहण गरेकी देवादितिले योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आध्यात्मिक शिक्षामा विशेष दक्षता हासिल गरेकी छन्। आयोजकका अनुसार उनले योगमार्फत स्वस्थ जीवनशैली, मानसिक शान्ति तथा सकारात्मक सोच विकासका विषयमा प्रशिक्षण दिनेछिन्।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालय को सहकार्यमा सञ्चालन हुन लागेको हो। साथै सह–प्रायोजकका रूपमा थर्डआइ एजुकेशनल सेन्टर प्रालि ले सहयोग गरेको जनाइएको छ।

आयोजकले योगलाई केवल शारीरिक अभ्यास नभई पूर्ण जीवन पद्धति, मानसिक अनुशासन र सकारात्मक जीवन दर्शनका रूपमा लिन आग्रह गरेका छन्। पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, मोटोपन, तनावलगायत नसर्ने रोग बढ्दै गइरहेका बेला योग, ध्यान र प्राणायाम प्रभावकारी विकल्प बन्दै गएको उनीहरूको भनाइ छ।

शिविरमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, व्यवसायी, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी भई स्वास्थ्य लाभ लिन आयोजकले आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा रघु आचार्य, जयराम पुलामी, राजन थापा लगायतको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.